बागमतीमा धेरै पानी बगिसक्यो, राजा फर्कन्छन् भन्ने विश्वास लाग्दैन: कोइराला

काठमाण्डु टुडे २०८१ चैत ३ गते १७:३२ मा प्रकाशित

काठमाण्डू, ४ चैत– कांग्रेस नेता डा.शेखर कोइरालाले राजावादी आन्दोलनबाट दलहरु सतर्क बन्नुपर्ने बताएका छन । आज सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता डा. कोइरालाले यस्तो बताएका हुन ।

नेता कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेको बताए । उनले भने, ‘हामी आत्तिहाल्नुपर्ने अवस्था छैन, तर सतर्क बन्नुपर्छ, सतर्क हुने भनेको राम्रो काम गर्ने हो ।’

जनताको आकांक्षा धेरै रहेको बताउँदै उनले राजनीतिक परिवर्तनपछि धेरै कामहरू भईरहेको पनि बताएका छन । उनले भने,‘हामीले के गर्‍यौं गरेनौं भन्ने कुरा महत्वपूर्ण हो । केही गरेनौं भन्ने होइन, धेरै गरेका छौं,’ उनले भने, ‘जनताको आकांक्षा अत्यन्त धेरै छ, जनताले खोजेका कुरा हामीले दिन सकेका छैनौं, तर जनतालाई सुसूचित गर्ने काम त हामी राजनीतिक दल र सरकारकै हो ।’

राजनीतिक दलका नेतृत्व प्रतिको वितृष्णका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ । ‘बागमतीमा धेरै पानी बगिसक्यो, मलाई चाहिँ लाग्दैन राजा फर्कनुहुन्छ भन्ने,’ के अब राजा आउँछन् त भन्ने प्रश्नमा कोइरालाले भने, ‘तर कोशिश त जहाँ पनि हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us