काठमाण्डू, ४ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई एमालेका सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा सांसद सिंहले गलत इतिहास सुनाएर शाहीलाई अपशब्द बोलेको आरोप समेत लगाएका छन ।
सांसद सिंहले भने, ‘हिजो एउटा झुटो इतिहास सुनाएर जुम्लाका माननीय सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानि गरी तिमी र तपाईं, मिस्टर भनेर सम्बोधन भयो ।’ उनले शाही गठबन्धनको भन्दा बढी भोट ल्याएर जितेको सांसद भएको पनि बताएका छन । उनले भने, ‘सदनमा मर्यादाहीन पेस हुने गैरजिम्मेवारी हो । त्यो रेकर्डबाट मेटिनुपर्छ ।
र, ती सांसदलाई सचेत हुन सभामुखबाट अनुरोध गर्छु ।’ आइतबार प्रतिनिधिसभाको बैठकमा पन्तले राजाकालीन विषयमा धारणा राख्ने क्रममा शाहीसँग विवाद भएको थियो ।