काठमाण्डू, ३ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना युवा नेता चितवनको भरतपुर विमानस्थलबाट पक्राउ परेका छन ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम छन् । कालीकोट घर भएका बम राप्रपा युवा संघको महासचिव हुन् । उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डू आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जानकारी दिएको छ । शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।
राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा आगो लगाएका थिए ।