ज्ञानबहादुर रघुजीको चुनौतीः जुम्लामा हाहु गरेजस्तो होइन, राजाका इतिहास पढेर आउनू

काठमाण्डु टुडे २०८१ चैत २ गते १३:१५ मा प्रकाशित

काठमाण्डू, ३ चैत– आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा पा एमालेका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूबीच भनाभन भएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रका इतिहासबारे टिप्पणी गर्दैगर्दा राप्रपा सांसद ज्ञानबहादुर शाहीले प्रतिवाद गर्न खोजेपछि केहीबेर उनीहरुबीच चर्का चर्की नै परेको हो ।

एमाले सांसद पन्तले राजतन्त्रका इतिहास कोट्याउँदै विभिन्न राजाहरूले देश र विदेशमा घटाएका घटनाहरूबारे बोलेका थिए । उनले रणबहादुर शाह, राजेन्द्रविक्रम शाह, त्रैलोक्य विक्रम शाह हुँदै राजा त्रिभुवनसम्मकाबारेमा टिप्पणी गरीरहेका थिए । उनले भने, ‘रणबबहादुर शाहको उपद्रव हेरौं । दरबारमा जेठी र कान्छि रानीको लडाईंले गर्दा भीमसेन थापा र दामोदर पाण्डेजस्ता देशभक्त काटिए ।

राजेन्दविक्रम शाहको पालामा कसले कोत पर्व घटायो ?’ पन्तले भनेका छन्, ‘जेठो युवरालाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छि रानीले षड्यन्त्र गर्दा कोतपर्व जन्मिएको होइन रु त्रैलोक्य विक्रम युवराज छँदाछँदै कसले विष खुवाएर मार्‍यो दरबारमा ? जनताले ?’ सोही सिलसिलामा उनले राजा त्रिभुवनले भारतको कलकत्ताका क्लबहरूमा विभिन्न ‘रसरंग’ मच्चाएको, भारतीय पत्रिकादेखि तत्कालीन प्रधानमन्त्रीसमेतले टिप्पणी गर्न बाध्य भएको दाबी गरे ।

एमाले सांसद पन्तले थपे, ‘त्रिभुवनलाई हेर्नुस् । दिल्ली त गए, तर कलकत्ताका क्लबहरूमा विभिन्न थरीका आइमाइहरूसँग रसरंग मच्चाउन थालेपछि भारतीय पत्रिकाहरूले टिप्पणी गरे । र भारतका प्रधानमन्त्रीले बाध्य भएर बोले,’ पन्तले भनेका थिए, ‘यो नेपालको राजाको तरिका ठिक भएन भनेर । राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो । त्यो लोकतन्त्रलाई उनका छोराले खोसे ।’ उनले यति बोल्दाबोल्दै राप्रपा सांसद शाहीले नियमापत्ति गरे ।

सांसद शाहीलाई डिस्टर्ब नगर्न पन्तले आग्रह गरे । शाही चुप नलागेपछि उनले इतिहास पढेर आफूसँग बहसमा उत्रन आग्रह गरे । उनले भने, ‘म इतिहासबाट सावित गरेर देखाइदिन्छु । इतिहासका अंश पढेर आउनुस् । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । इतिहास पढेर आउ ।’ लगत्तै सांसद शाहीले भने, ‘जे पायो त्यही बोल्न पाइन्छ ?’जवाफमा पन्तले भनेका छन्, ‘के बोल्न पाइन्छ मलाई थाहा छ ।’ सांसद शाहीले आफ्नो काटिएको समय उपलब्ध गराउन सभामुख देवराज घिमिरेलाई आग्रह गरे । त्यतिकैमा फेरि राप्रपा सांसद शाहीले प्रश्न गरे, ‘प्रमाण छ ?’

पन्तले जवाफमा भनिदिए, ‘इतिहास पढेर आउने, म सँग बहस गर्न आउने, मिस्टर । माननीय जी । इतिहास पढेर आउने ।’ त्यसपछि सभामुख घिमिरेले व्यवस्था अनुसार नै खण्डन गर्न आग्रह गरे । ‘हाम्रो यहाँको प्रबन्ध, व्यवस्था र नियमावलीको आधारमा अभिव्यक्ति दिन्छौं । माननीय सदस्यले राष्ट्रको अगाडि बोलिरहँदा तथ्य, तर्कमा आधारित भएर बोल्नुपर्छ भन्ने विषयमा माननीय सदस्यहरू जानकार हुनुहुन्छ,’ उनले भने, ‘केही सदस्यलाई असहमत हुनसक्छ, झुटो लाग्नसक्छ ।

त्यसलाई हामीले तय गरेको व्यवस्था अनुसार नै खण्डन गर्नुपर्छ ।’सभामुख घिमिरेले आफ्नो गरिमा राखेर बोल्न सांसहरूलाई आग्रह गर्दै सांसद पन्तको काटिएको समय थप हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us