
काठमाण्डू, २ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीभित्र कुनै गुट नरहेको बताएका छन ।
उनले रास्वपाको केन्द्रदेखि वडासम्म एउटै गुट भएको जिकिर गर्दै अझै २० वर्षसम्म पनि पार्टीमा यो गुट, त्यो गुट भन्ने नहुने पनि बताएका छन । यदि त्यसो गरेमा जनताले सराप दिने उनको भनाई थियो ।
आज (शनिबार) रुपन्देहीको देवदह नगरपालिका–७ को पार्टी कार्यालय उद्घाटन गर्दै सभापति अर्यालले पार्टी अझै पनि रवि लामिछानेको नेतृत्वमा रहेको पनि उनले बताएका छन । उनले रविलाई ठुला दलहरूले प्रतिसोध राखेर फसाउन खोजेको भन्दै अर्यालले उनको ठाउँमा आफूले केही समय कार्यवाहक अध्यक्ष रूपमा पार्टी सम्हालेको पनि बताएका छन ।
उनले भने, ‘हाम्रो पार्टीमा कुनै गुट, उपगुट छैन । पार्टी केवल रवि लामिछाने गुट हो । उहाँले जुन अभियान लिएर हिँड्नुभयो, त्यसमा हामी सबै एकबद्ध छौँ ।’ उनले पार्टी सभापति अप्ठ्यारोमा परेको बेला पार्टीलाई जोगाउन सबैलाई एक ढिक्का राख्ने जिम्मेवारीमा आएको पनि बताएका छन ।
उनले रविले जनता समस्याहरू उठाउन थालेपछि एकपछि अर्को उचाइ लिएको ठुला दलहरू मन नपरेका कारणले सहकारी मुद्दामा डुलाएको आरोप समेत लगाएका छन ।
उनले रविलाई जति डुलाए पनि केही फरक नपर्ने बताए । उनले युवाहरूलाई विदेश जान बाध्य पार्ने पनि यिनै दलहरू भएको आरोप लगाए । उनले विकास निर्माण सुस्त भएको तथा जनताको समस्याहरू समाधान गर्ने तर्फ दलहरू ध्यान नदिएको उल्लेख गर्दै जनतामा चरम निराश हुने काम सरकारले गरेको बताए ।