शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छः प्रचण्ड 

काठमाण्डु टुडे २०८१ चैत १ गते १५:२९ मा प्रकाशित
काठमाण्डू, २ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्ने बताएका छन ।
विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको  भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने पनि बताएका छन ।
प्रचण्डले भने, ‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने, ‘मुख्य कुरा इच्छाशक्तिको हो ।
शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’ शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको  समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।
साथै उनले विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us