काठमाण्डू, २ चैत– पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको बताएका छन । आज शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको उपयोग अधिकतम गर्नुपर्ने पनि बताएका छन । उनले अनुदान, साझेदारी, सहुलियतपूर्ण ऋण र व्यावसायिक ऋणको कुरा गर्दा नेपालले व्यावहारिक र तर्कसंगत विकल्पहरूसहित परियोजनाहरू छनौट र वार्ता गर्नुपर्ने बताएका छन ।
सन्तुलित र अग्रगामी दृष्टिकोण अपनाएर नेपालले दिगो विकास र आर्थिक वृद्धि हासिल गर्न बिआरआईका फाइदाहरू उपयोग गर्नसक्ने पनि बताएका छन ।
पूर्वप्रधानमन्त्री खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बिआरआई ल्याएको हो भनेर पश्चिमी देशहरूले गलत प्रचार गरिरहेको आरोप पनि लगाएका छन ।
पूर्व प्रधानमन्त्री खनालले केही मानिसहरूले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्ने गरेको र लुम्बिनी विमानस्थलको बारेमा पनि यस्तै हल्ला फैल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन ।