काठमाण्डू, १ चैत– प्रहरीले चार करोड रुपैयाँ भन्दा बढीको बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दार्जे लामा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ फागुनमा अनामनगरबाट पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरको मुद्दामा काठमाण्डू जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनीविरुद्ध ४ करोड ९ लाख २७ हजार १३७ रुपैयाँको बैंकिङ कसुरको मुद्दा रहेको प्रहरीले भनाइ छ । यसअघि उनीविरुद्ध २४ लाखको बैंकिङ कसुरको मुद्दा चलेको पाइएको प्रहरीले जानकारी दिएको छ ।