योजना बनाउँदा गरिबी निवारणलाई प्राथमिकता दिऔंः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ फागुन ३० गते १६:२५ मा प्रकाशित

काठमाण्डू, १ चैत– एमाले अध्ययक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन । आज शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयको छलफलमा यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारण गर्न सकिने पनि बताएका छन । प्रधानमन्त्री आयोगका अध्यक्षसमेत हुन् । पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न उनले आग्रह समेत गरेका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ, ‘जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ ।’उनले मन्त्रालयहरूलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन पनि सुझाव दिए । ‘उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ,’ उनले भने ।

राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्यांकन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि उनले आग्रह गरे ।

आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले १६ औं योजनाको कार्यान्वयन, यसका चुनौतीहरू, राष्ट्रिय आयोजना बैँकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदि विषयमा अवगत गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us