काठमाण्डू, १ चैत– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको पछिल्लो अवस्थाबारे गम्भीर आत्मसमीक्षा जरुरी रहेको बताएका छन । आज शुक्रबार दुई महिने पार्टी आन्दोलनको घोषणा गर्ने क्रममा महासचिव भूसालले यस्तो बताएका हुन ।
उनले जिम्मेवार राजनीतिक दल र नागरिक समाजले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने पनि बताएका छन । महासचिव भुसालले अहिले सत्तारुढ गठबन्धन नालायक र अनुत्तरदायी बन्दै गएको अनि सडक अराजक र पपुलिष्ट भइरहेको पनि बताएका छन ।
‘सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै छन्, सडक अराजक र पपुलिष्ट हुँदै छ,’ भूसालको वक्तव्यमा भनिएको छ, ‘यस अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्मसमीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भइसकेको छ, जसले सत्ताधारी गठबन्धनका नालायकी विरुद्ध आम जनतालाई सचेत र संगठित गर्दै मुलुकलाई अपमानको इतिहासबाट मुक्त गरोस् र अग्रगामी निकास देओस् ।’
सत्ता केन्द्रीत राजनीतिक गठबन्धनले मुलुकको आर्थिक समस्या हल गर्न नसक्ने पनि उनले उल्लेख गरेका छन् । त्यस्तो राज्य सत्ताले सामाजिक असन्तुष्टिलाई बढाउने र अस्थिरताका शक्तिहरू उत्तेजक बन्दै जाने भूसालको निष्कर्ष छ ।