ओलीलाई अंकुश लगाउन कि सघाउन बनाइयो राजनीतिक संयन्त्र ?

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– सत्तारुढ दलभित्रैबाट सरकारका काम प्रभावकारी नभएको गुनासो बढिरहेका बेला प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र एमालेले सरकार सञ्चालनका लागि संयन्त्र बनाएका छन् ।

सरकारका काम प्रभावकारी बनाउन संयन्त्र बनाइएको नेताहरुले बताएका छन् । यस्तो संयन्त्र प्रदेश र स्थानीय तहसम्मै निर्माण गरिने ती दलको भनाइ छ ।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक सदस्य छन् ।

एमालेबाट संयन्त्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव एवं प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल छन् ।

काँग्रेस महामन्त्री थापाले सरकारका काम प्रभावकारी बनाउन र सत्ता गठबन्धनबीच विश्वासको वातावरण बनाइराख्न दुई दलीय बनाउन संयन्त्र गठन गरिएको बताए । थापाले सातवटै प्रदेश र जिल्ला तहमा पनि यस्तै प्रकृतिको संयन्त्र निर्माण गर्ने सहमति भएको जानकारी दिए ।

काँग्रेस र एमालेबीच गत १७ असारको मध्यरातमा एक सञ्चार उद्यमीको घरमा सत्ता साझेदारीसम्बन्धी ७ बुँदे सहमति भएको थियो । सोही सहमतिका आधारमा एमालेले तत्कालीन प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि एमाले अध्यक्ष ओली ३० असारमा मुलुकको कार्यकारी प्रधानमन्त्री नियुक्त भए । ओलीपछि प्रतिनिधिसभाको बाँकी तीन वर्षे कार्यकालमध्ये काँग्रेस सभापति शेरबहादुर देउवा दुई वर्ष प्रधानमन्त्री बन्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us