काठमाण्डु, २१ कात्तिक– जापानबाट प्रधानमन्त्री केपी ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका युटुबर रतन कार्कीलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याउने तयारी गरेको छ ।
प्रहरीको साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले कार्कीको अभिव्यक्तिबारे अनुसन्धान गरिरहेको छ । इन्टरपोलमार्फत उनलाई नेपाल ल्याएर साइबर अपराधमा कारबाही गर्ने तयारी प्रहरीको रहेको एक अधिकारीले जानकारी दिए ।
गत १४ कात्तिकमा दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भएको महिला साफ च्याम्पिनसिप–२०२४ को फाइनल खेल हेर्न गएका बेला सामाजिक सञ्जालमा लाइभ गर्दै उनले ‘ओलीलाई मार्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भएपछि उनले रंगशालामै रहेका प्रधानमन्त्री ओलीलाई ‘मार्नुपर्ने’ आशयको आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
कार्कीले प्रधानमन्त्रीको हत्या गर्ने कानूनले बर्जित गरेको आपत्तिजनक अभिव्यक्ति सामाजिक सदभाव फैलाउन खोजेकाले उनलाई कारबाही गर्न लागिएको प्रहरीको भनाइ छ ।
कार्कीले भने प्रहरी कारबाहीको निशानामा पर्ने भएपछि अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका छन् । उनले आफ्नो उक्त भिडियो पोष्ट सामाजिक सञ्जालबाट हटाएका छन् । आफ्नो आशय प्रधानमन्त्रीको हत्या गर्नुपर्छ भन्ने नभएको तर बोल्ने क्रममा जिब्रो चिप्लिएर ‘मार्नुपर्छ’ भन्ने शब्द प्रयोग भएको जिकिर उनको छ ।
‘हिंसात्मक शब्द बोल्न पुगेछु । त्यसका लागि सबैसँग क्षमा चाहन्छु’, उनले भनेका छन्, ‘दर्शकलाई हँसाउने उद्देश्यले बोल्दा कमीकमजोरी भएको हो । कुनै पनि राजनीतिक व्यक्तिसँग वा कुर्सीमा बसेका कसैले मलाई नै प्रहार गर्यो जस्तो चाहिँ नलिनु । किनकी मैले व्यक्तिगत रूपमा यसलाई सक्काउनुपर्छ भन्ने देखिए पनि मेरो आसय त्यस्तो थिएन । त्यस्तो भनेर मैले गलत गरें ।’