विराटनगर, २१ कात्तिक– प्रहरीले मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सियास्थित उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा लगाइएको ताला फुटाएको छ ।
ताला फुटाएर प्रहरीले अनुसन्धानका लागि सहकारीका सबै कागजात जफत गरेको छ । सर्वसाधारण बचतकर्ताको लाखौं ठगिएको विषय बाहिर आएपछि सञ्चालकहरु कार्यालयमा ताला लगाएर फरार थिए ।
पटकपटक आग्रह गर्दा पनि सञ्चालकले ताला नखोलेपछि गत १४ कात्तिकमा ताला फोरेर कागजात नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले सहकारी ठगीबारे उजुरी परेपछि अनुसन्धानमा सहयोग गर्न पटकपटक गरिएको आग्रहलाई सञ्चालकहरुले बेवास्ता गरेको बताए । उनले ठगीका विषयमा अनुसन्धान अघि बढाइएको उल्लेख गरे ।
कोसी प्रदेशको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उक्त सहकारीमा भएको ठगीबारे अनुसन्धान गर्न मोरङ प्रहरीलाई यसअघि नै पत्राचार गरिसकेको छ ।
उक्त सहकारी ठगीमा एमाले सांसद एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको नाम पनि जोडिएको छ । पोखरेल पत्नी अञ्जला कोइराला सहकारीको सञ्चालक समिति सदस्य थिइन् ।
तर, सहकारी ठगीको विषय बाहिर आउन थालेपछि उनले राजीनामा दिएकी छन् । पोखरेलले नै उक्त सहकारीको स्थापना गरेका थिए । आफू अध्यक्ष बस्न नमिल्ने भएपछि उनले आफूनिकट एमाले कार्यकर्ता शम्भुप्रसाद रौनियारलाई अध्यक्ष र श्रीमती कोइरालालाई सदस्य बनाएका थिए ।
उक्त सहकारी र अरु सहकारीमा भएको ठगीको प्रकरण भने फरक छ । अन्य सहकारीले बचतकर्ताको रकम हिनामिना गरेका छन् भने सो सरकारीका सञ्चालकले सदस्यहरुको अचल सम्पत्ति अन्य बैंक तथा वित्तिय संस्थामा धितो राखेर ऋण लिएको रकम हिनामिना गरेका छन् । बैंक तथा वित्तिय संस्थालाई बुझाउनुपर्ने सावाँब्याज नतिरेका कारण धितोमा राखिएका अधिकांश सहकारी सदस्यका घरजग्गा लिलामीमा छन् ।
सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५७ लाख ऋण लिएको छ । यसैबीच सहकारीका अध्यक्ष रौनियारले विज्ञप्ति जारी गर्दै प्रहरीले जबर्जस्ती ताला फुटाएर कागजात लगेको भन्दै आपत्ति जनाएका छन् ।
तिहार बिदाको समय पारेर प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले अनुगमन गर्ने नाममा सहकारीको सामान बरामद गरिएको रौनियारले बताएका छन् । उनले सरकारीविरुद्ध कुनै किसानले उजुरी नगरेको समेत दाबी गरे ।