देश कसरी डुब्दैछ सिंहदरबार वैद्यखाना हेरे पुग्छ: मेयर बालेन

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको बताएका छन ।

आज (बुधबार) राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मेयर बालेनले यस्तो बताएका हुन ।

उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताएका छन । उनले भने, ‘अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ, ‘९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।’

सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानाका कारण उल्लेख गर्दै उनले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकता रहेको पनि बताएका छन ।

उनले थपे, ‘आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो ।’ नगरप्रमुख साहले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाको व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराएका छन ।

उनले भने, ‘पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ, ‘२०५८–५९ सालमा यहाँको बजेट रु पाँच करोड थियो, अहिले एक करोड छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us