२९ तोला सुनसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते २१:३२ मा प्रकाशित

बुटवल, १३ कात्तिक- प्रहरीले बुटवलबाट २९ तोला अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा सोमबार राति खानतलासी गर्दा सुन बरामद भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बुटवल प्रहरी प्रमुख डिएसपी विजयराज पण्डितले राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गरिएको बताए ।

उनका अनुसार बसका कण्डक्टर कपिलवस्तु वाणगंगा नगरपालिका-८ का  ३३ वर्षीय अकबर अलि मिया सुनसहित पक्राउ परेका छन् ।

मियाले दायाँ खुट्टाको जुत्ताभित्र लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई टुक्रा सुन लुकाएर ल्याएका थिए ।

प्रहरीले अर्घाखाँची सुनचादी पसलका सञ्चालक सन्तोष सुनारलाई पनि पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us