काठमाण्डु, १३ कात्तिक– हालसम्म देशभरका ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन । आज मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरीएको हो ।
यसअनुसार हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ । कात्तिक १२ गतेसम्म आंशिक भुक्तानी भएका बचतकर्ताको संख्य ४३८ छ । उनीहरूको ३ करोड १ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
यसैगरी गत आर्थिक वर्ष ०८०–८१ सम्म १ हजार २०० जनाको मागदाबी राफसाफ गरिएको थियो । जसअनुसार उनीहरूले ८३ हरोड ६५ लाख रकम फिर्ता पाएका थिए ।
यसैगरी चालु आव ०८१-८२ को कात्तिक १२ गतेसम्म थप ४ हजार ८५६ जनाको ६४ करोड ८६ लाख रुपैयाँ राफसाफ गरिएको छ । आंशिक र पूर्ण गरी रकम भुक्तान गरिएका मागदाबीकर्ताको संख्या ६ हजार ५९६ पुगेको छ ।