झापा, ११ असोज- झापामा वर्षासंगै खोलामा आएको बाढीले बगाएर एक बालिकासहित तीन जना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको कृष्णे खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले एकएकजना बगाएको हो । झापा प्रहरी प्रमुख मिलन केसीले किस्ने खोला पुलबाट हाम फालेर गौरीगञ्ज–२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएका छन् । उनी मादक पदार्थ सेवन गरेर शुक्रबार दिउँसो ४ बजेतिर पुल माथिबाट हाम फालेका थिए । उनको अवस्था अज्ञात छ ।
कमल गाउँपालिका–१ का रमेश चौधरीका छोरा ३५ वर्षीय टिकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपता भएका छन् ।
यस्तै कचनकवल गाउँपालिका–१ झकुवाटोलका पचुं राजवंशीकी छोरी १४ वर्षीया नेहारिका जमुना खोलामा डुबेर बेपत्ता भएकी छन् । आफन्तको घरबाट साइकलमा फर्कने क्रममा जमुना खोलाले बगाएर दिउँसो करिब ३ बजेतिर नेहारिका साइकलसहित बेपत्ता भएको एसपी केसीले बताए । हराएका तीनै जनाको खोजी भइरहेको एसपी केसीले बताए ।