‘दबाङ’ महिला इन्स्पेक्टरमाथि हनी ट्रयाप मुद्धामा ३० लाख मागेको आरोप

काठमाण्डु टुडे २०८१ असोज १० गते २१:३० मा प्रकाशित

ललितपुर, १० असोज– नेपाल प्रहरीले मुद्धा मलाइदिने भन्दै ३० लाख रुपैयाँ लिएको आरोपमा एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि विभागीय कारबाही अघि बढाएको छ ।

भैंसेपाटी प्रहरी प्रभागकी इन्चार्ज इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि अनुसन्धान भइरहेको हो । शाहीलाई ललितपुर परिसरले जिम्मेवारीबाट हटाएर निलम्बनमा राखिएको छ ।

हनी ट्र्यापिङको मुद्धा मिलाइदिने भन्ने उनले एक पुरुषसँग ३० लाख लिएको आरोप छ । हनी ट्रयापको विषयलाई बलात्कार घटनामा परिणत गरेर फसाइदिने भन्दै बिनुले पैसा मागेको विषयमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको परिसरका एक अधिकारीले बताए । रकक लिएको पुष्टि हुने आधार फेला परेको उनको भनाइ छ ।

शाहीले आफ्ना दुई आफन्तको बैंक खातामा उक्त रकम जम्मा गर्न लगाएकी थिइन् ।

उक्त प्रकरण छानबिनका लागि परिसरले डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ ।

शाही यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहँदा जवानमाथि कुटपिट गरेर चर्चामा आएकी थिइन् । कञ्चनपुरमै रहँदा उनले थुनुवामाथि ज्यादती गरेको समेत आरोप लागेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us