सूर्य थापाको प्रष्टीकरणः विदेशमा बस्ने सबै नेपालीलाई भेडा भनेको छैन

काठमाण्डु टुडे २०८१ असोज १० गते १९:३२ मा प्रकाशित

काठमाण्डु, १० असोज– एमाले नेता एवं सांसद् सूर्यबहादुर थापाले विदेशमा रहेका सबै नेपालीलाई आफूले भेडाको उपमा नदिएको प्रष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले उक्त प्रष्टीकरण दिएका हुन् । आफूले स्वदेश र विदेश दुवैतिर रहेका केही संख्याका भेडाहरुलाई मात्र उक्त संज्ञा दिएको बताए ।

उनीहरु परिचालित भएर भ्याभ्या गरिरहेको टिप्पणी उनको छ । ‘मैले भेडा जमात भनेको विदेशमा रहेका सबै नेपालीलाई होइन । स्वदेश र विदेशमा रहेका केही संख्याका भेडाहरूलाई मात्र हो’, थापाले लेखेका छन्, ‘जो परिचालित भएर भ्याभ्या गरिरहेका छन् ।’

थापाले विेदश बस्ने सबै नेपालीलाई भेडाको संज्ञा दिएको भन्दै रास्वपा कार्यकर्ताले सामाजिक सञ्जालमा उनीविरुद्ध अभियान नै चलाएका छन् ।
सहकारीको बचत अपचलनसम्बन्धमा छानबिन गर्न गठित संसदको विशेष समितिका सभापतिरहेका रहेका थापाले केही दिनअघि एक टेलिभिजन अन्तवार्तामा विदेशमा बस्ने भेडाहरुले सहकारी ठगीसम्बन्धी प्रतिवेदनबारे आफूले बोलेका विषयमा बुझ्दै नबुझी टिप्पणी गरिरहेको बताएका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले त्यस्तो टिप्पणी गरेको भन्दै उनीहरुलाई भेडा जमातको संज्ञा दिएका थिए ।

समितिले सहकारीको रकम सिधै गोर्खा मिडियामा ल्याउन भूमिका नभए पनि आइसकेपछि खर्च गर्नमा भूमिका देखिएको भन्दै रास्वपा सभापति एवं गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि कानूनी कारबाहीको सिफारिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us