साथीहरू डराएर सरकारमा नगए कांग्रेस सिद्धिन्छ भनेपछि ओलीसँग मिलेँ: सभापति देउवा

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १८:२१ मा प्रकाशित

काठमाण्डु २७ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग मिलेर सरकार बनेपछि कांग्रेस छाडेर अन्य दलमा जानेहरू पुनः कांग्रेसमै फर्कन थालेको बताएका छन ।

आज बिहीबार पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ–नगरपालिकालाई सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले सरकारबाट पार्टी बाहिर रहे सकिन्छ भन्ने गुनासो आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सरकार बनाएको बताएका छन ।

सभापति देउवाले भने, ‘सहमति नेपाली कांग्रेसका साथीहरूको भावना अनुसार हो । धेरै साथीहरूले भन्नुभयो जहाँ जाँदा पनि सरकार फर्काउनु पर्छ हाम्रो पार्टी सिद्धिन्छ भन्नुभयो । ओलीजीसँग कुरा गरे अनि सकारात्मक कुरा आयो ।’ उनले एमालेसँग भएको सहमति अनुसार २ वर्ष पुगेपछि आफू प्रधानमन्त्री बन्ने लिखित सहमति भएको पनि बताए ।

‘एमाले र माओवादीको सरकार हुँदा हाम्रा पार्टीका सबै साथीहरू चिन्तित र डराएका थिए‚’ उनले भने‚ ‘यसले देशभरका साथीहरूमा सुखद कुरा आएको छ सबै साथी खुसी छन् ।’

सभापति देउवाले २ पार्टीको बिचमा भएको सहमतिले अरू दल सकिने हो कि भन्ने डर नपाल्न अनुरोध गर्दै भने‚‘अरू पार्टीका साथीहरू पार्टी सिद्धिन्छ भन्ने होला हाम्रो नीति अरूलाई सिद्ध्याउने हैन‚ ओलीजीको पनि त्यस्तो कुरा हैन होला ।’

आफू उमेर लगायत अनेक कारणले रिटार्डमेन्टको बेला पुगेको भन्दै उनले कांग्रेसलाई कता लाने अबको पुस्ताले चिन्ता गर्नुपर्ने उल्लेख गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us