अरु राजनीतिक दललाई कमजोर बनाउन वर्तमान सरकार निर्माण भएको होइनः सभापति देउवा

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १७:४६ मा प्रकाशित

काठमाण्डु २७ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउन वर्तमान सरकार निर्माण नभएको बताएका छन । आज बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन ।

उनले अरू दलहरूलाई सिध्याउने भन्ने नीति नभएको पनि बताएका छन । देउवाले आफूले सबैलाई मिलाएर अघि बढाउन चाहेको पनि बताएका छन । उनले कांग्रेस र एमालेबीच सरकार बनेपछि देशभरि कांग्रेसका नेता कार्यकर्ताहरूमा खुसीयाली छाएको र उत्साह रहेको दाबी गरेका छन । उनले भने, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ ।

एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए । डराएका पनि थिए । अफ्ठ्यारो पनि मानेका थिए । उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ ।

यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ । सबै साथीहरु खुसी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ । त्यसले अरु केही पार्टीका साथीहरु दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन ।’ उनले पार्टीमा अब नयाँ पुस्ताले नेतृत्व लिन तयार हुनुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us