नेपालसँग नजिक रहेका भारतीय कम्युनिस्ट नेता येचुरी निधन

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १७:२५ मा प्रकाशित

काठमाण्डु २७ भदौ– भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा गराइरहेका महासचिव येचुरी बिहिबार निधन भएको भारतीय अखबार हिन्दुले जनाएको छ ।

अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो । पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो ।

येचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन् । उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो । उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए ।

उनी पार्टीमा ३ पटकसम्म महासचिव बन्न सफल भएका थिए । येचुरीकी पत्नी सीमा चिश्ती पत्रकार हुन् । एक अन्तरवार्तामा उनले आफूलाई पत्नीले आर्थिक रूपमा सघाइरहेको बताएका थिए ।

उनको पहिलो विवाह इन्द्राणी मजूमदारसँग भएको थियो । नेपालको शान्ति प्रक्रियालाई समेत येचुरीले सघाएका थिए । पत्रकार सुधीर शर्माका अनुसार नेपालमा जनआन्दोलन चल्दा येचुरी लगायत नेताले भारतमा सोलिडारिटी ग्रुप बनाएका थिए ।

त्यस बेला भारतको केन्द्रीय सरकारमा येचुरीको दल सीपीएम समेत थियो, जसले विद्रोही माओवादीलाई शान्तिपूर्ण अवतरण गराउन भूमिका खेलेको थियो ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्षसमेत बनेका येचुरी नरम लोकतन्त्रवादी कम्युनिस्ट मानिन्थे । नेपालमा उनी एमालेसँग निकट रहे पनि कांग्रेस लगायत दलसँग समेत उनको सम्बन्ध राम्रो रहेको पत्रकार शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us