काठमाण्डु २७ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगर हटाउने सत्तारुढ दलहरुको तयारीको प्रतिकार गर्ने बताएको छ ।
आज बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने रास्वपाले बताएको हो । कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘एमाले र कांग्रेसले तयारी गर्दै हुनुहुन्छ रे । आन्तरिक छलफल गर्न हामीले बाँकी छ’ एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु कि, हामी प्रतिकार गर्नेछौं ।’
उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रको स्पष्टीकरण दिइसकेको भन्दै कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले त्यही विषय उठाएर हटाउन खोज्नु बेठीक भएको पनि रास्वपाले बताएको छ ।
उनले भने, ‘यो कुरा किन अहिले बाहिर निकाल्न खोजियो भन्दाखेरि संवैधानिकमा बहुमत नपुग्ने भइसकेपछि आयो’, उनले भने,‘रास्वपाबाट आएको व्यक्ति वाधक हुन्छ भन्ने देखिसकेपछि अहिले यो मुद्दालाई राष्ट्रिय बहसमा ल्याइएको छ ।’
उपसभामुख रानामगरले गरेको त्रुटी पद नै जाने खालको नभएको बुर्लाकोटीले जिकिर गरे । गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पछि सत्ता पक्षले उपसभामुख रानामगरलाई पदीय आचरण अनुरुप कार्य नगरेको भन्दै पदमुक्त गराउने तयारी गरेका छन् । दुई तिहाइ सांसदको संख्या पुर्याउनका लागि मंगलबार र बुधबार हस्ताक्षर संकलन गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जानका लागि २०२३ को फेब्रअरीमा उपसभामुख रानामगरले ४ पुरुष र एक महिलालाई आफूसँग लाने गरी दूतावासमा सिफारिस पत्र लेखेकी थिइन् । उपसभामुख रानामगरले त्यसबेला लेखेको पत्र गत साउनको पहिलो साता सार्वजनिक भएको थियो ।