हत्या आरोप लागेका मन्त्री कुर्मीले दिए राजीनामा

काठमाण्डु टुडे २०८१ भदौ २५ गते २०:३१ मा प्रकाशित

दाङ, २५ भदौ– लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् ।
हत्या आरोपी कुर्मीलाई काँग्रेसले मन्त्री बनाएको भन्दै चौतर्फी विरोध भएको थियो । कुर्मीमाथि बाँकेकी निर्मला कुर्मीको हत्या र उनको सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

कुर्मीलाई मन्त्री बनाएकामा काँग्रेसभित्रैबाट सभापति शेरबहादुर देउवाको आलोचना भएको थियो । प्रतिनिधिसभा बैठकमै महामन्त्री विश्वप्रकाश शर्माले कुर्मीलाई मन्त्री बनाइएकामा आपत्ति जनाएका थिए ।

चौतर्फी विरोधपछि सभापति देउवाले नै कुर्मीलाई राजीनामा दिन निर्देशन दिएको एक नेताले जानकारी दिए ।

उनी गत २०७९ मंसिरमा भएको निर्वाचनमा बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us