विराटनगर, २५ भदौ– कांग्रेस नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ परेका छन् ।
प्रहरीले कार्कीलाई मंगलबार राति विराटनगरस्थित अनसन स्थलबाट पक्राउ गरेको हो । स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा कार्की मंगलबार अपराह्नदेखि समर्थकसहित आमरण अनसन बसेका थिए ।
कार्की १० वर्षमुनिका बालबालिकाको स्वास्थ्य निःशुल्क हुनुपर्ने माग राखेर मंगलबारदेखि विराटनगरस्थित कोसी प्रदेशसभा नजिकै समर्थकसहित आमरण अनसन बसेका थिए । निषेधित क्षेत्रमा अनसन बसेको भन्दै स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो ।
अनसन स्थलबाट अनसनकारीलाई हटाउन गएको प्रहरी र कार्की समर्थकबीच त्यस क्रममा झडप भएको छ । झडपअघि प्रहरीले निषेधित क्षेत्र भएकाले अनसन छाडेर जान आग्रह गर्दै माइकिङ गरेको थियो । तर, कार्कीले नमानेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
सुरक्षाकर्मीले माइकिङ गर्दै निषेधित क्षेत्रबाट हटिदिन गरेको आग्रह कार्की र उनका समर्थकले अटेर गरेका थिए । प्रहरीले बल प्रयोग गरी हटाउन खोजेपछि कार्की समर्थक र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।
झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपका क्रममा केही अनसनकारी र केही प्रहरी घाइते भएका छन् ।
आफू मुख्यमन्त्री छँदा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना ल्याएकामा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाएको विरोधमा उनी अनसन बसेका हुन् ।
कार्कीले मर्न तयार रहेको तर बालकालिकाको निःशुल्क उपचार योजना कटौती गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।
पूर्वमुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले प्रदेशभरका १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम ल्याएको थियो ।
तर, श्रोतले नधान्ने भन्दै वर्तमान मुख्यमन्त्री कार्कीले सो कार्यक्रम हटाएका छन् ।