कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन स्थलमा झडप

काठमाण्डु टुडे २०८१ भदौ २५ गते २०:१५ मा प्रकाशित

विराटनगर, २५ भदौ– कांग्रेस नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन स्थलमा झडप भएको छ ।

कार्की १० वर्षमुनिका बालबालिकाको स्वास्थ्य निःशुल्क हुनुपर्ने माग राखेर मंगलबारदेखि विराटनगरस्थित कोसी प्रदेशसभा नजिकै समर्थकसहित आमरण अनसन बसेका थिए ।

निषेधित क्षेत्रमा अनसन बसेको भन्दै स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो ।

अनसन स्थलबाट अनसनकारीलाई हटाउन गएको प्रहरी र कार्की समर्थकबीच त्यस क्रममा झडप भएको छ । झडपअघि प्रहरीले निषेधित क्षेत्र भएकाले अनसन छाडेर जान आग्रह गर्दै माइकिङ गरेको थियो । तर, कार्कीले नमानेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

आफू मुख्यमन्त्री छँदा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना ल्याएकामा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाएको विरोधमा उनी अनसन बसेका हुन् ।

कार्कीले मर्न तयार रहेको तर बालकालिकाको निःशुल्क उपचार योजना कटौती गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

पूर्वमुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले प्रदेशभरका १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम ल्याएको थियो ।

तर, श्रोतले नधान्ने भन्दै वर्तमान मुख्यमन्त्री कार्कीले सो कार्यक्रम हटाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us