काठमाण्डु, २५ भदौ– कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
बुधबार बिहान ८ः३० मा बस्ने गरी देउवाले बुढानीलकण्ठस्थित निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
बैठकमा उपसभापति धनराज गुरुङमाथि लागेको सहकारी ठगीको आरोपबारे छलफल हुने बताइएको छ ।
गुरुङ र उनकी पूर्वपत्नी ज्योतीले करिब १८ करोड ठगी गरेको भन्दै ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारी संस्थाका पदाधिकारीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० मा उजुरी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समय मागेर गुरुङले आफूमाथि लागेको अभियोगबारे छानबिन गर्न संसद र सरकारसँग माग गरेका थिए ।
पूर्वपत्नीले गरेको आर्थिक अपराधको जिम्मा आफूले लिन नसक्ने उनको भनाइ थियो । यस्तै उपसभामुख इन्दिरा रानामगरलाई पदीय आचरण नभएको विषयमा हटाउन खोजिएको विषयसमेत काँग्रेस बैठकको एजेण्डा हुनेछ ।
सोमबार सत्तारुढ दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदमा सत्तापक्षसँग ५० प्रतिशत नरहेको भन्दै उपसभामुख रानालाई हटाउने प्रस्ताव गरेका थिए । श्रोतका अनुसार काँग्रेस सभापति देउवाले ओलीको प्रस्तावमा समर्थन जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्र, रास्वपा र राप्रपाले उपसभामुख रानालाई हटाउने अलोकतान्त्रिक गतिविधि भए प्रतिकार गर्ने चेतावनी सत्तापक्षलाई दिएका थिए ।
सरकार नेतृत्वकर्ता एमाले सांसदले भने आफूसहित ६ जनाको भिसाको मिति अगाडि सारिदिन अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै रानाले राजीनामा लिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।