पोखरा, २५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध टार्गेट गरेर सहकारी पीडितले अपराध गरेको बताएका छन् ।
पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण एवं विस्तारित बैठकलाई मंगलबार पोखरामा सम्बोधन गर्दै लामिछानेले गलत मान्छेमाथि टार्गेट गरेको भन्दै सहकारी पीडितप्रति आक्रोश व्यक्त गरे । लामिछाने कार्यक्रमस्थल जाँदै गर्दा पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले उनीविरूद्ध नाराबाजी गरेका थिए । लामिछानेले ठगीमा संलग्नको स्पष्ट पहिचान हुँदासमेत आफुमाथि टार्गेट गरिनु गलत भएको बताए ।
उनले आफूमाथि गलत आरोप लगाएर विषय अन्यत्र मोड्न खोजिएको उनको भनाइ थियो । उनले बास्तविक पीडितका लागि आफू पनि अग्रपंक्तिमा उभिएर संघर्ष गर्न तयार रहेको भन्दै कसैले उचालेको भरमा आफूमाथि प्रदर्शन गरिएको आरोप लगाए । सहकारी पीडित भएर वास्तविक संघर्षमा उत्रिएकाहरुलाई भने आफूले सलाम गर्ने लामिछानेको भनाइ थियो ।
‘सहकारी पीडितका लागि लड्नुभएको भए मेरो साथ छ, सलाम छ । तपाईंहरूले गलत मान्छेलाई टार्गेट गरेर गल्ती गर्नुभएको छ’, उनले भने, ‘जो मानिसले गल्ती गरेको छैन । जो मान्छे अपराधमा संलग्न छैन । उसैलाई दोषीझैं गरी कसैले उक्साएको भरमा तपाईले जुन विरोध गरिरहनुभएको छ । तपाईले विरोध नगरिदिनुभएको भए तपाईंको न्यायका लागि लड्ने मान्छेको अग्रपंक्तिमा रवि लामिछाने हुने थियो । तपाईंले मौका गुमाउनुभएको छ ।’
लामिछानेले अझै पीडितका पक्षमा लड्न आफू तयार रहेको उल्लेख गरे । ‘म अझै भन्न चाहन्छु, साथी हो, कहाँ जाने लड्न ? म अझै पनि तयार छु,’ उनले भने, ‘तपाईका अनेक मुर्दावाद, जिन्दावाद, कालो झण्डाबीच पनि म कालो मन होइन सफा मन लिएर तपाईको आन्दोलनमा अग्रपंक्तिमा लड्न चाहन्छु, आँखा खोल्नुस् ।’
सूर्यदर्शन सहकारीका पीडितसँग आफू मिडियामा लाइभ गरेर कुरा गर्न तयार रहेको बताए । आफूविरूद्ध प्रमाण जुटाए पार्टीको विस्तारित बैठक चलिरहेको ग्यालेक्सी ब्याङ्क्वेटबाटै राजनीति त्याग्न आफू तयार रहेको उनको भनाइ थियो ।
मलाई यहीँ दोषी प्रमाणित गर्नुस् । यही हलबाट राजनीति अन्त्य गरेको घोषणा गर्छु । आजैबाट त्यागेर जान्छु, बुझाउँछु घण्टी’, उनले भने । लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको दाबी गरे । ऋण लिँदा आफ्नो हस्ताक्षर, विवरण, नागरिकता, ल्याप्चे केही पनि नभएको भन्दै उनले आफूविरूद्ध हिलो छ्यापिएको टिप्पणी गरे ।