रवि लामिछानेलाई जोगाउन ममाथि सहकारी ठगीको आरोप लगाइयोः धनराज गुरुङ

काठमाण्डु टुडे २०८१ भदौ २५ गते १५:३० मा प्रकाशित

काठमाण्डु, २५ भदौ– कांग्रेस उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा भइरहेको छानबिन प्रभावित पार्न आफूमाथि आरोप लगाइएको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लामिछानेमाथि सहकारी ठगीमा छानबिन गरिरहेका बेला अन्यत्रै मोड्न आफूमाथि आरोप लगाएको बताए ।

सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको दाबी उनले गरे ।

गुरुङले आफूमाथि आशंका भए तत्काल छानबिन गर्न सरकार र संसद्को ध्यानाकर्षण गराए । संसदीय छानबिन नै गर्नुपर्छ भने पनि आफू तयार रहेको उनले बताए ।

‘म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । मेराबारे लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि सम्वद्ध निकायहरूलाई आग्रह गर्दछु’, उनले भने ।

आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिबद्ध रहेको जिकिर उनको थियो ।
गुरुङ र उनकी पूर्वपत्नी ज्योतीले करिब १८ करोड ठगी गरेको भन्दै ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारी संस्थाका पदाधिकारीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी दिएका छन् ।

आफूले ठगी गरेको आरोप लगाउने मितेरी सहकारीका पदाधिकारीमाथि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे । ‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू, कसकसलाई छानबिन गर्नुपर्ने हो, तुरुन्तै छानबिन गरियोस्’, उनले भने, ‘यदि यस विषयमा म माथि कुनै आशंका छ भने तुरुन्तै छानबिन गरियोस् । कुनैपनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिन हुन्न भन्ने मान्यतामा म सधैं अडिक छु ।’

विगतमा पनि कुनै आरोप लाग्दा आफू अदालतबाट निर्दोष सावित भएको बताए ।

‘सहकारी ठगी सम्बन्धि प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयबस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटो भन्दा छिटो छानबिन गर्न माग गर्दछु’, उनले भने, ‘जसले सुशासन कायम गर्नका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरू र नेपाल सरकारका कर्मचारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर यसै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

उसैमाथि यत्रो आरोप ? जसले यसै संसदमा गैरकानुनी कारोबार रोक्नका लागिथ ५ सय र हजारका आवाज उठाइरह्यो । उसैमाथि यत्रो षडयन्त्र ? त्यसैले यो पुनः षडयन्त्रकारी कदमको निष्पक्ष छानबिनको माग गर्दछु । धनराज गुरुङ खुला किताव हो । जसले जताबाट अनुसन्धान थालेपनि हुन्छ । ’
गुरुङले सहकारीको रकम अपचलन गरेर फरार रहेकी ज्योति गुरुङ आफ्नो पूर्वश्रीमती भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us