७० करोड प्रकरण सम्झिँदै गोकुल बाँस्कोटाले मागे उपसभामुखको राजीनामा

काठमाण्डु टुडे २०८१ भदौ २५ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– एमाले सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै बाँस्कोटाले नैतिकतामा प्रश्न उठेकले भन्दै मार्ग प्रशस्त गर्न रानामगरलाई सुझाए ।

आफूमाथि प्रश्न उठ्दा मन्त्री पदबाट राजीनामा दिएको स्मरण उनले गरे । राजनीतिक व्यक्तित्वहरूसँग प्रश्न उठेपछि मार्ग प्रशस्त गर्न सक्ने साहस र आँट हुनुपर्ने उनको भनाइ थियो ।

केपी ओलीको अघिल्लो प्रधानमन्त्रीत्व कालमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए ।

‘मेरो सुझाव छ उपसभामुखज्यूलाई । जब यत्रो प्रश्न उठेर सदनमा पटकपटक कुरा उठिसक्यो भने यहाँ कयौं दृष्टान्तहरू छन् जसमध्ये म पनि एउटा हुँ । प्रश्न उठिसकेपछि मैले पदबाट राजीनामा दिएको थिएँ,’ बाँस्कोटाले भने, ‘ममाथि छानबिन गरियोस् भनेर । दोषी भए प्रमाणित गरियोस् । तथ्यका आधारमा प्रमाणित गरियोस् र कारबाही गरियोस् । यो नैतिकता यति आँट, यति साहस राजनीतिक मान्छेहरूसित हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us