एजेन्सी– फरक क्षमताका खेलाडीहरूको लागि आयोजित पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा उद्घाटन गरीएको छ ।
बुधबार राति आयोजित एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरीएको अन्तराष्ट्रिय समाचारमाध्यमले जनाएका छन । पारा ओलम्पिकको इतिहासमा पहिलो पटक पेरिसस्थित ‘प्लेस डी ला कनकर्ड’ स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरियो ।
प्रतियोगिताका अन्य कार्यक्रम र खेलाडीको मार्चपास्ट भने रङ्गशालामै भएको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा विश्वभरका ६५ हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन ।
फ्रान्सले गृष्मकालीन पारा ओलम्पिक आयोजना गरेको यो पहिलो पटक हो । ११ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू भने बिहीबारदेखि सुरु हुनेछ । पारा ओलम्पिकको १७औँ संस्करणमा एक सय ६८ राष्ट्रका खेलाडीहरूले सहभागिता जनाउँदै छन् ।
यसपटक पारा ओलम्पिकमा शरणार्थी र तटस्थ खेलाडीहरूको एक–एक टोलीले पनि सहभागी छन् । प्रतियोगितामा विभिन्न २२ वटा खेलका पाँच सय ४९ स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगितामा पाँच सय ४९ स्वर्ण पदकका लागि खेलाडीहरूबिच भिडन्त हुनेछ । ‘पारा ओलम्पिकको यो संस्करणले उद्घाटन समारोहसँगै विभिन्न विषयमा इतिहास रचेको छ,’ उद्घाटन समारोहमा पेरिस पारा ओलम्पिक आयोजक समितिका अध्यक्ष टोनी स्टानग्वेटले भने ।