गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

काठमाण्डु टुडे २०८१ जेठ १६ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, १६ जेठ– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेशमा पाण्डे बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । सर्वोच्चले संविधानको धारा (१६८) उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न मंगलबार परमादेश दिएको थियो ।

यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासको मत पाउन नसकेको ठहर गर्दै सर्वोच्चले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

पाण्डे यसअघि २०८० वैशाख १४ गते पहिलो पटक गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्रले सत्ता गठबन्धन फेरेसँगै पाण्डेले २१ चैतमा पदबाट राजीनामा दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us