कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गर्दै आएको छ । आजको बैठकमा पनि नेपाली कांग्रेसले समिति नबनाइएको भन्दै अवरोध गरेको हो ।

आज २ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । दलहरूबीच सहमति नभएपछि निर्धारित समयभन्दा २ घण्टा ढिला बैठक सुरु भएको थियो ।

उक्त बैठक पनि कांग्रेसले अवरोध गरेको थियो । त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब डेढ घण्टापछि बसेको थियो ।

दोस्रो बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । लगत्तै कांग्रेस सांसदहरू उठेर नाराबाजी सुरु गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us