कांग्रेसलाई सभामुखको प्रश्न: सदन चलाउने कुरा कहाँबाट तय हुन्छ ?

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १७:३७ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– आज शुक्रबार बसेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी कांग्रेसलाई सदन चलाउने विषय कहाँबाट तय हुन्छ भनेर प्रश्न गरेका छन् ।

आजको बैठकमा कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि सभामुख घिमिरेले यस्तो बताएका हुन् । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरे ।

त्यसपछि सभामुख घिमिरेले कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापालाई बोल्न समय दिए । सभामुखले थापालाई ३ मिनेट समय दिए ।

प्राप्त समयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस सांसदहरूले ‘जम्मा तीन मिनेट’ भनेपछि सभामुखले सदन चलाउने तय कहाँबाट हुन्छ भनेर प्रश्न गरेका हुन् ।

‘कति समय दिनुपर्छ, के गरी सदन चलाउनुपर्छ भन्ने कुरा यताबाट टुंगो हुने कि त्यहाँ माननीय सदस्यले भनेपछि टुंगो हुने हो ?’ सभामुख घिमिरेले कांग्रेस सांसदहरूलाई पहिलो प्रश्न गरे ।

कांग्रेस सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा छलफल भएर विषय टुंगो लाग्ने जवाफ दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us