संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्दैन: कांग्रेस नेता सिटौला

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले सहकारीको रकम अपचलनमा संलग्न रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन बनाउन माग गरेको छ ।

आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नभए सदन नचल्ने बताएका छन ।

उनले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदको दुवै सदनको बैठक चल्न नदिने कांग्रेस संसदीय दलको निर्णय रहेको बताएका छन ।

आज (शुक्रबार) बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीमाथि छानबिन समिति गठन नभएम्म सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरेको थियो ।

विगतमा प्रश्न उठेका मन्त्रीहरूले राजीनामा दिएका र निर्दोष रहेको अवस्थामा पुनः जिम्मेवारीमा फर्केका उदाहरण रहेको स्मरण गर्दै कांग्रेस सांसद सिटौलाले वर्तमान गृहमन्त्रीको सम्बन्धमा पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन् ।

पदमा रहेका व्यक्तिमाथि निष्पक्ष छानबिन हुन नसक्ने उनको भनाइ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us