राष्ट्रपति पौडेललाई अध्यक्ष ओलीको प्रश्न: त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताबारे राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन ।

आज (शुक्रबार) एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रपतिका सल्लाहकार कस्ता हुन् भनेर प्रश्न गरेका छन ।

उनले भने, ‘नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्दा अर्को देश करायो । किन करायो होला अर्को देश भन्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू त्यो अर्को देश कराए सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो भन्छ, ‘सम्माननीय राष्ट्रपतिले कस्ता र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ?

यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार, त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ?’ उनले यसबारे एमालेले संसद्‌मा गम्भीर ढङ्गले राख्ने समेत बताएका छन ।

साथै उनले यसमा राष्ट्रपति वा प्रधानमन्त्रीले जवाफ कसले दिने हो दिनुपर्ने पनि बताएका छन । उनले राष्ट्रपतिका सल्लाहकारले राष्ट्रपतिको बोली बोल्ने भन्दै राष्ट्रपतिलाई प्रश्न समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us