पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक काठमाण्डुबाट परे पक्राउ

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– प्रहरीले कास्कीको पोखरा क्षेत्रमा ‘मुख्यमन्त्रीको पिए हुँ’ भनेर ठग्ने युवकलाई काठमाण्डुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर–३१ घर भएका सुवास सुवेदी रहेको प्रहरीले जानकारी दिएको छ । २८ वर्षीय सुवेदीलाई आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिएका छन ।

सुवेदीले गत २० वैशाखमा पोखरास्थित एउटा टुर्स एण्ड ट्राभल्स प्रालीमा फोन गरेर ‘म मुख्यमन्त्रीको पिए हुँ, तुरुन्तै मलाई पोखराबाट काठमाण्डु र काठमाण्डुबाट नेपालगञ्जको हवाई टिकट पठाइदिनु भनेर फोन गरेका थिए ।’

टिकट काट्न लगाएर यात्रा गरेपनि उनले ट्राभल्सलाई पैसा नदिएर ठगेका हुन् । वडा प्रहरी कार्यालय बैदामका डीएसपीलाई पनि उनले फोन गरेर ‘बालुवाटारबाट बोलेको हुँ’ भन्दै अभद्र व्यवहारको मुद्दा बुझाउन निर्देशन गरेको खुलेको छ ।

पोखरा क्षेत्रमा कास्कीको प्रमुख जिल्ला अधिकारीलाई मैले सरुवा गरेर ल्याएको हुँ भन्दै हिँड्ने र ठुला मान्छे चिनेको धाक लगाएर ठग्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

आरोपीविरुद्ध २ वटा ठगी मुद्दाको जोहरी परेको छ । आरोपीविरुद्ध वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको एसपी थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us