व्यवसायी नतर्साउन प्रधानमन्त्रीको निर्देशन छ:अर्थमन्त्री पुन

काठमाण्डु टुडे २०८० चैत २८ गते १७:११ मा प्रकाशित

काठमाण्डु, २८ चैत– अर्थमन्त्री वर्षमान पुनले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन । आज बुधबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाण्डुमा जारी ५८  औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित अन्तरक्रियामा कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।

उनले सरकारलाई राजस्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीलाई आग्रह पनि गरेका छन । मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई अकारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिएको उनले बताएका छन ।

मन्त्री पुनले गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न अनुसन्धान गर्ने निकायका अधिकारीलाई आग्रह गरेका छन । उनले लोकतान्त्रिक मुलुकमा कोही पनि कानुनमाथि नहुने स्पष्ट गर्दै कुनै पेसा र व्यवसायका व्यक्ति विशेषमाथि आरोप लाग्दा सामग्र क्षेत्रमाथि आरोपित गर्ने प्रवृत्ति राम्रो नभएको दाबी गरेका छन ।

उनले राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा जोड दिएका मन्त्री पुनले निजी क्षेत्रले राज्यलाई र राज्यले निजी क्षेत्रलाई कमजोर बनाउने काम गर्नु नहुने पनि बताएका छन । उनले आगामी दिनमा विवेक प्रयोग गरेर मात्र अनुसन्धान हुने र व्यक्तिका सामाजिक मर्यादाको सम्मान हुनेमा सरकारका तर्फबाट आफूले प्रतिबद्धता जनाउन सक्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us