यो वर्ष ३.३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डु टुडे २०८० चैत २० गते १३:२७ मा प्रकाशित

काठमाण्डु, २० चैत– विश्व बैंकले चालु आर्थिक वर्ष ०८०/ ८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आज मंगलबार बैंकले ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

सरकारले चालु आ.व ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । गत जनवरी मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । अहिले त्यसमा केही घटाएको हो । गत आव ०७९ /८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत रहेको थियो ।

आगामी आव नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ । सन् २०२६ मा भने ५.३ प्रतिशत आर्थिक वृद्धि हुने बैंकको अनुमान रहेको छ ।

यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको छ । विश्वमा तेलको मूल्यमा कमी आउने अपेक्षा भएकाले नेपालको मूल्यवृद्धि पनि नियन्त्रणमा रहने अपेक्षा उसको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us