सांसदहरूले दिएको सुझावका आधारमा बजेट तर्जुमा गर्ने अर्थमन्त्री पुनको घोषणा

काठमाण्डु टुडे २०८० चैत ७ गते १७:०८ मा प्रकाशित

काठमाण्ड, ७ फागुन– अर्थमन्त्री वर्षमान पुनले सांसदहरूले दिएको सुझावलाई समेत समेटेर आगामी आर्थिक वर्षको बजेट तय गर्ने बताएका छन । आज बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष ०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।

उनले संविधानमा उल्लेख भए अनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि केही ठोस आधार तयार हुने किसिमको बजेट ल्याउने तयारी रहेको बताएका छन ।

उनले पूर्व अर्थमन्त्री महतले संसद्‌‌मा प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता परिवर्तन नगरे पनि त्यसमा सांसदहरुको सुझावलाई समेटेर लैजाने बताएका छन ।

उनले भने, ‘कतिपय सांसदले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने बताएको उल्लेख गरे । सरकारका नीतिहरूमा स्थिरता कायम गर्नुपर्ने, राम्रा नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने, परिवर्तित सन्दर्भको आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्ने गरी आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिनेछ ।

विद्यमान कानुनी व्यवस्थाअनुसार पुनः विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकोले सांसदहरूले दिएको सुझाव समेतका आधारमा बजेट तर्जुमा गरिनेछ ।’

उनले पूर्व अर्थमन्त्री महतले पेस गरेको नीति र सिद्धान्त संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख हुन नसकेको र सामाजिक न्यायको एजेन्डालाई उपेक्षा गरेको भन्दै सांसदहरूले चिन्ता र चासो राखेको बताएका छन । उनले आगामी बजेट १६ औँ योजनाको सोच अनुसारको पहिलो वर्षको प्रमुख कार्यहरू गर्ने वर्ष हुने बताएका छन ।

संविधानमा उल्लेख भए अनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि केही ठोस आधार तयार हुने उल्लेख गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us