बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य छैन: अर्थमन्त्री पुन

काठमाण्डु टुडे २०८० चैत ३ गते १३:४५ मा प्रकाशित

काठमाण्डु,३ चैत– अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो स्वार्थका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने बताएका छन ।

आज (शनिबार) राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।

उनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रहसमेत गरेका छन ।

उनले बैंकहरूलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने पनि बताएका छन । उनले भने, ‘बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने अनि ऋण तिर्दिनँ भनेर हिंड्ने प्रवृत्ति छ, ‘आफ्नो स्वार्थ पूरा गर्न बैंकिङ प्रणालीप्रति अफवाह फैलाउने प्रवृत्ति सरकारलाई कदापी स्वीकार्य हुन सक्दैन ।’

अर्थमन्त्री पुनले नेपालको बैंकिङ प्रणालीलाई उत्कृष्ट भन्दै बैंक जति व्यवस्थित रूपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको पनि बताएका छन ।

उनले भने, ‘नेपालमा यदि कुनै संस्था व्यवस्थित रूपमा सञ्चालनमा छ भने त्यो बैंकिङ क्षेत्र हो । यो हामीले भनेको होइन । अन्तर्राष्ट्रिय संस्थाहरूले अध्ययन गरेर निकालेको निष्कर्ष हो’ ‘आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनु पर्दैन । ’

उनले कुनै बैंकर्सले गल्ती गरेको भए कारबाही हुने स्पष्ट गर्दै आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकोमा चिन्ता जनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us