अर्थतन्त्रका कुनै सूचक सकारात्मक छैनन् : विष्णु पौडेल

काठमाण्डु टुडे २०८० फागुन २४ गते १५:१२ मा प्रकाशित

काठमाण्डु, २४ फागुन– पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको दाबी गरेका छन । आज बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरेका छन । उनले भने, ‘अर्थतन्त्रमा समस्या छन्, परिसूचक नकारात्मक छन् तर निवर्तमान अर्थमन्त्री आँकडा सच्याउन हिँड्नुभयो, ‘आँकडा सच्याएर हुँदैन, अवस्था सच्याउनुपर्छ ।’ उनले गलत सूचना सम्प्रेषण गरेर अर्थतन्त्र दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको पनि बताएका छन ।

उनले भने, ‘राजस्वको लक्ष्य पूरा हुन सक्दैन, स्वयं निवर्तमान अर्थमन्त्रीले गरेको संशोधिन अनुमानमा पुग्न पनि गाह्रो छ, ‘खर्च गर्न नसक्ने अवस्था छ । निर्माण व्यवसायी भुक्तानी मागिरहेका छन् तर सरकार खर्च गर्न सकिरहेको छैन ।’

उनले आर्थिक वर्षको सुरुका महिनामा सामान्यतया आन्तरिक ऋण नउठाइने भए पनि यसअघिको सरकारले आन्तरिक ऋण उठाउने अवस्थामा पुगिसकेको अवस्थामा समेत अर्थतन्त्र सकारात्मक रहेको भ्रामक प्रचार गरेको आरोप लगाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us