
काठमाण्डु, १३ फागुन– माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र र राजावादी हुन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सापकोटाले यही संविधानअन्तर्गत चुनावमा भाग लिएर सेवा सुविधा उपभोग पनि गर्ने र व्यवस्था र संविधानको पनि विरोध गर्ने कुरा किमार्थ स्वीकार्य नरहेको बताए ।
राप्रपातर्फ लक्षित गर्दै सापकोटाले व्यवस्था र संविधानविरुद्धका अनर्गल प्रचार असह्य हुने चेतावनी दिए । सापकोटाले संसदको लोगो लगाएर सुविधा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने र प्रदेशतिर सभामुख पनि खानेले व्यवस्थाको विरोध गर्न नसुहाउने स्पष्ट गरे ।
सापकोटाले व्यवस्था र संविधानलाई ध्वस्त गर्ने गरी बहस गर्ने अधिकार कसैलाई नभएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरे ।
‘यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद् हुने, लोगो लगाएर सारा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने’, उनले भने, ‘तर फेरि यो संविधानलाई विरोध गर्ने ?’
सापकोटाले संविधानअनुसार अहिलेको व्यवस्थालाई कसरी थप उन्नत बनाउने भन्नेबारेमा भने बहस गर्न सकिले उल्लेख गरे ।