रिसोर्ट सञ्चालकद्वारा १७ वर्षीया किशोरीमाथि बलात्कार

काठमाण्डु टुडे २०८० फागुन ६ गते २०:३५ मा प्रकाशित

मोरङ, ६ फागुन– मोरङको उर्लाबारीमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

बलात्कार आरोपमा प्रहरीले उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरेको छ । गुरुङले उर्लाबारी–३ मा रिसोर्ट सञ्चालन गर्द आएका थिए ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङ घर भएकी किशोरी उर्लाबारीमा कोठा लिएर पढ्न बसेकी थिइन् ।

उनलाई प्रलोभनमा पारेर गुरुङले होटलमा लगी बलात्कार गरेका थिए । बलात्कारपछि अचेत भएकी किशोरीलाई उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित गाई गोठमा छाडेर गुरुङ फरार भएका थिए । स्थानीयले अर्धचेत अवस्थामा आइतबार बिहान गोठमा किशोरीलाई फेला परेर प्रहरीमा खबर गरेका थिए ।

होस खुलेपछि किशोरीले घटनाबारे परिवारका सदस्यलाई बताएको र पीडित परिवारको किटानी जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।

गुरुङविरुद्ध अदालतबाट म्याद थप गरी जबरजस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । पीडित किशोरीको भने उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us