दुर्गा प्रसाईंको पक्षमा स्वागत नेपालद्वारा सर्वोच्चमा रिट

काठमाण्डु टुडे २०८० मंसिर ५ गते १४:३७ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाउने गरी जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जारी गरेको निषेधाज्ञाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले शान्तिपूर्ण रुपमा बिनाहातहतियार भेला हुन पाउने संनिधान प्रदत्त नागरिक अधिकार कुण्ठित हुने गरी निषेधाज्ञा जारी गरिएको भन्दै मंगलबार रिट दर्ता गराएका हुन् ।

सर्वोच्च प्रशासनले उक्त रिटमा बुधबार प्रारम्भिक सुनुवाई हुने गरी तोकेको छ । निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्ने जिकिर रिट निवेदकको छ ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वर क्षेत्रलाई निषेधित घोषणा गरेका थिए ।

एमाले सम्वद्ध युवा संघ र मेडिकल वयवसायी दुर्गा प्रसाईं समूहले एकै दिन र समयमा प्रदर्शन गर्ने भएपछि सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

युवासंघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खुमा प्रदर्शन गर्न स्थानीय प्रशासनले स्थान तोकेको छ ।

उन्नत लोकतन्त्र पार्टीका अध्यक्षसमेत रहेका अधिवक्ता नेपाल गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट उम्मेदवार दिए । उनलाई एमाले उम्मेदवार हालका सभामुख देवराज घिमिरेले पराजित गेरका थिए ।

नेपाल पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः शासन सत्तामा फर्काउनुपर्ने भन्दै अभियान सञ्चालन गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us