टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी !

काठमाण्डु टुडे २०८० मंसिर ५ गते ८:४० मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।

सामाजिक सदभाव खल्बल्याएको र पारिवारिक संरचनामा गम्भीर असर पु¥याएको भन्दै मन्त्रिपरिषदले गत २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
बालुवाटार उच्च श्रोतका अनुसार टिकटक कम्पनीसँग केही लिखित सम्झौतापछि प्रतिबन्ध फुकुवा गर्ने तयारी छ । सरकारले यसअघि टिकटकलाई नेपालमा कार्यालय राख्न, करको दायरामा आउन र अमर्यादित तथा चरित्र हत्या गर्ने कन्टेन्ट हटाउन एक्सेस दिन भनेको थियो ।

टिकटकले सर्त नमानेको भन्दै मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटक बन्दको पक्ष र विपक्षमा बहस जारी छ । टिकटकमाथिको प्रतिबन्ध खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन् ।

सोमबार रिटमाथिको सुनुवाई तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि आजका लागि सारिएको छ । प्रधानमन्त्रीका एक सल्लाहकारले सधैंका लागि टिकटक बन्द नगएिकाले खोल्ने तयारी गरिएको जनाए । ‘टिकटकलाई सरकारका केही सर्त थिए ।

उसले अस्वीकार गरेका कारण बन्द गरिएको हो’, उनले भने, ‘सरकारका सर्त मान्न टिकटक तयार भएकाले प्रतिबन्ध फुकुवा गर्न लागिएको छ ।’ प्रतिबन्ध फुकुवाअघि टिकटकसँग सरकारको तर्फबाट लिखित सम्झौता हुने जानकारी उनले दिए ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाए पनि अधिकांश प्रयोगकर्ता भिपिएन प्रयोग गरी पुनः टिकटकमा सक्रिय भएका छन् ।

सत्तारुढ दल काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विपक्षी दलका नेता, आइटी विज्ञ तथा प्रयोगकर्ताले अराजकता नियन्त्रणका लागि नियमन जरुरी भए पनि प्लाटफर्म नै बन्द गरेर सरकारले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको भन्दै उक्त निर्णयबाट पछि हट्न आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us