वरिष्ठ वामपन्थी नेता मानन्धरको निधन

काठमाण्डु टुडे २०८० कार्तिक २८ गते १८:४३ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक- वरिष्ठ वामपन्थी नेता शान्तदास मानन्धरको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । सम्भवतः उनी जिवितमध्ये सबैभन्दा वरिष्ठ वामपन्थी थिए ।
मानन्धर राणा शासनविरोधी आन्दोलनबाटै कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । कम्युनिष्ट आन्दोलनमा उनी पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीदास अमात्य, कृष्णदास मानन्धर, शम्भुराम श्रेष्ठ र  निर्मल लामाका समकक्षी थिए ।

पछिल्लो समय उनी कम्युनिष्ट आन्दोलनबाट विरक्तिएर लेखनकार्यमा सक्रिय थिए । उनका बाल साहित्यसम्बन्धी दर्जनौं कृषि प्रकाशित छन् ।

जीवनको उत्तराद्र्धका दिनहरुमा समेत मानन्धरले बालकोशेली पत्रिका सम्पादन गर्थे । आलोचनात्मक चेतका धनी शान्तदासले कवि दुर्गालाल श्रेष्ठहरूसँग मिलेर पञ्चायतका प्रारम्भिक दिनमा भाषा आन्दोलन चलाएका थिए । विज्ञान र तथ्यमा मात्र विश्वास गर्ने उनका ‘माटोको कथा’, ‘पानीको कथा’ जस्ता आख्यानात्मक बाल पुस्तक चर्चित छन् । ‘

मानन्धरले राणाशासनविरोधी आन्दोलनका चार शहीद गंगालाल श्रेष्ठ, दशरथचन्द ठकुरी, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको जीवनी समेटेर चार फरक जीवनमाला प्रकाशन र सम्पादन गरेका छन् । बाल साहित्यसँगै चित्र कोर्न पनि उनी पारंगत नै थिए । पछिल्लो दशकमा शान्तदास रुम टु रिड नामको गैरसरकारी संस्थामार्फत बालसाहित्यिक पुस्तक सम्पादनमा सक्रिय थिए । २०१५ सालमै अंग्रेजी भाषामा सम एसेज नामक पुस्तक लेखेका उनले थुप्रै चिनियाँ साहित्यका पुस्तक नेपाली र नेपाल भाषामा अनुवाद गरेका छन । त्यसका साथै उनले चर्चित अन्तर्राष्ट्रिय लेखकहरु लु सुन, हान्स एन्डरसन र जोनाथन स्विफ्टका पुस्तकसमेत अनुवाद गरेका छन् ।

विक्रम सम्वत १९९१ साल जेठको शुक्ल दशमीका दिन काठमाण्डु वसन्तपुरमा व्यापारिक परिवारमा जन्मामिएका मानन्धर पछिल्लो पाँच दशक बाल साहित्यको विकास, विस्तार तथा प्रवर्धनमा समर्पित रहे ।

सोही कार्यबापत उनलाई २०७५ सालमा जगदम्बा श्री-२०७४ बाट सम्मानित गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us