सेनाको निस्कर्षः स्वार्थ प्रेरित समूहले तथ्यरहित भ्रम श्रृजना गरिरहेको छ

काठमाण्डु टुडे २०८० भदौ २५ गते ७:३५ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– प्रधानसेनापति प्रभुराम शर्माले स्वार्थप्रेरित समूहले तथ्यरहित भ्रम सिर्जना गरेर वातावरण खल्बल्उने कोसिस गरिरहेको भन्दै सजग रहन खपिल गरेका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै शर्माले पूर्वाग्रही एवं बेमौसमी तर्कका आधारमा वातावरण खलबल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनालाई निर्देशन दिए ।

नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको स्मरण शर्माले गरे ।

सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकल दर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई उनले धन्यवाद दिए ।

सैन्य संगठन आजको भोलि नै तयार गर्न नसकिने उनको भनाइ थियो । ‘लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सबल र सुदृढ हुँदै जाने संगठित र अनुशासित संगठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीअनुसार सदैव चलिरहन्छ’, उनले भने ।

शर्माले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us