
सुनसरी, २३ भदौ– सुनसरीको बर्जु गाउँपालिका–१ मा प्रहरीमाथि आक्रमण गरी हतियार लुटिएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीबाट चोरी नियन्त्रणमा खटिएका सादा पोसाकका प्रहरीमाथि गएराति आक्रमण भएको हो । चोरी र लुटपाट भइरहेको सूचनामा आधारमा प्रहरी टोली उक्त स्थानमा खटिएको थियो ।
प्रहरी जवान जवान बिमन परियार र प्रेम चौधरी सादा पोशाकमा लुटपाट भइरहेको स्थानमा गएका थिए । सुनसरी प्रहरी प्रमुख एसपी एसपी विपिन रेग्मीले चार जनाको संख्यामा हरेको समूहले प्रहरीमाथि आक्रमण गरेर हतियार लुटेको बताए ।
दुवै प्रहारी जवानलाई पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरिएको जानकारी रेग्मीले दिए । आक्रमणकारीले प्रहरीको साथबाट ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको उनले बताए । प्रहरीले घटनालगत्तै लुटेराको खोजीमा टोली परिचालन गरेको छ ।
प्रहरीले घटनास्थल नजिकैबाट पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ । तर, पेस्तोल भने अझै भेटिएको छैन । शंकास्पद ५ जनालाई नियन्त्रणमा लिए सोधपुछ भइरहेको एसपी रेग्मीले बताए ।