
जाजरकोट, २३ भदौ– जाजरकोटको भेरी नगरपालिकामा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीमाथि आक्रमण गरेका छन् ।
भेरी नगरपालिका–५ मा निर्मित वडा कार्यालय भवन निरीक्षणमा सुर्खेतबाट गएको अख्तियार टोलीमाथि शुक्रबार स्थानीय जाइलागेका हुन् । अख्तियारका पाँच कर्मचारी निरीक्षणमा गएका थिए ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय चक्रबहादुर मल्लसहित ४ जनाको समूहले अख्तियार टोलीमाथि आक्रमण गरेको जनाएको छ । आक्रमणमा अख्तियार टोली सवार गाडीका चालक मानबहादुर ठाडा मगर घाइते भएका छन् ।
जाजरकोट प्रहरीका डिएसपी सन्तोष रोकाले आक्रमणमा संलग्न मल्लसहित तीनजनालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उनले बताए ।